क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई जना भारतीय पक्राउ

असार २४, २०८२

नेपालमा आएर गैरकानुनी रुपमा डेढ अर्बभन्दा माथिको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई १ अर्ब ५० करोडभन्दा माथि गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ललितपुरको सानेपाबाट पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी स्थायी घर भएका ४३ वर्षीय भारतीय नागरिक रुपेश कुमार गुप्ता र बिहारकै पूर्वी चम्पारण बिजबानी स्थायी घर भएका २२ वर्षीय विपिन कुमार छन् । केही व्यक्तिहरुले अवैध हुण्डि कारोबार गरेको तथा क्रिप्टोकरेन्सी मुद्राको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता युवराज खड्काले जानकारी दिनुभयो । 

प्रवक्ता खड्काअनुसार उनीहरुले राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा गैरकानुनी हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेका थिए । 


प्रतिक्रिया