देबचुलीका सुकुम्बासीले भने, ‘नो पुर्जा नो भोट’

नो पुर्जा नो भोट लेखिएको ब्यानर राखेर धर्ना दिंदै देबचुली नगरपालिका वडा नम्बर ४ र ५ झाक्रे गाउँका स्थानीय बासिन्दा । 

चैत्र २१, २०७८ | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको देबचुली नगरपालिकाका सुकुम्बासीले आफूहरुले दशकौंदेखि कमाउँदै आएको जग्गाको पुर्जा नपाएसम्म आगामी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताएका छन् । 

निर्वाचन नजिकिएसँगै उनीहरुले भोट माग्न आउने सबै दलका नेता र उम्मेदवारलाई जग्गाधनी लालपुर्जा उपलब्ध गराए मात्रै चुनावमा भोट हाल्ने नभएर चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन् । 

उनीहरुले नो पुर्जा नो भोट भन्दै दिनहुँ विरोध जनाउन थालेपछि स्थानीय राजनीतिक दलका नेताहरुले जग्गाको जग्गाधनी पुर्जा दिलाउन हरसम्भव प्रयास गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।

देबचुली–४ र ५ का स्थानीयले पुर्जा नपाएसम्म मतदानमा भाग नलिने अडान राख्दै आएका छन् । भोट माग्न आउने उम्मेदवारलाई उनीहरुले आफ्नो क्षेत्रमा समेत प्रवेशमा रोक लगाएको छ । 

भोट माग्न पुग्ने उम्मेदवार टोलमा प्रवेश गरेलगत्तै सुकुम्बासीहरुले अवरोध गर्न थालेपछि जिल्लाका राजनीतिक दलका नेताहरुले सुकुम्बासी वस्तीमै गएर जग्गाधनी पुर्जा दिलाउन सबै प्रयास गर्ने सामूहिक प्रतिबद्धता जनाएपनि स्थानीय विश्वस्त हुन सकेका छैनन् । ४ दशक भन्दा बढी समयदेखि जग्गा भोगचलन गर्दै आएपनि पुर्जा नपाएका पीडितले आफ्नो गाउँमा आएर भोट माग्नै प्रतिबन्ध लगाएको स्थानीय रामबहादुर अधिकारीले बताए । 

वडा नम्बर ४, ५, १३ र १७ मा दशकौदेखि वसोबास गर्दै आएका स्थानीयले आफूले भोगचलन गर्दै आएको जग्गाको पुर्जा पाएका छैनन्् । ती सबै वडामा गरी १ हजार भन्दा बढी घरधुरीका स्थानीयसँग जग्गा धनी पुर्जा छैन । वडा नम्बर ४ का सबै सुकुम्बासी हुन् । 

झाक्रे गाउँका स्थानीय गणेश गुरुङ नेताहरुले सधै ढाँटेर आफूहरुलाई ठग्दै आएको दुखेसो पोख्छन् । त्यहाँ ४० वर्षदेखि बसोबास गर्दै आएकाहरुले जग्गाधनी पुर्जा पाएका छैनन् । सबै दलका नेताले पुर्जा दिने आश्वासन दिएपनि अहिलेसम्म आफूहरुले नपाएको उनीहरुको गुनासो छ । ‘यसैमा हाम्रो आपत्ति छ,’ गुरुङले भने, ‘हाम्रो माग सम्बोधन नगरेसम्म निर्वाचनमा भोट हाल्दैनौँ ।’

वडा नम्बर ५ का अध्यक्ष शिवलाल सापकोटाले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गाको पुर्जा चाहियो भन्ने स्थानीयको माग जायज भएको बताउनुभयो । सबैजसो दलका नेताले निर्वाचनमा जग्गाधनी पुर्जा दिन्छौँ भन्दै भोट माग्दै गरेपनि दशकौँसम्म पुर्जा नपाएका सुकुम्बासीले संयुक्त आवाज उठाएको सापकोटाले बताउनुभयो । 

वडा नम्बर ४ मा ८ सय ५५ घरधुरी र वडा नम्बर ५ मा २ सय ९९ घरधुरी सुकुम्बासी छन् । १३ नम्बर वडाको बोटे टोलमा करीब २ सय घरधुरी सुकुम्वासी बसोबास गर्दछन । ५ दिनअघि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका जिल्ला नेताहरुले झाक्रेमा आयोजित भेलामा सबै सुकुम्बासीलाई चाडो भन्दा चाडो जग्गाधनी पुर्जा दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए । 

एमाले प्रदेश सभासदस्य रोशन बहादुर गाह, नेपाली कांग्रेसका प्रदेश सभासदस्य विष्णु लामिछाने, नेता महेन्द्रध्वज जिसी सहितका नेताहरुले सुकुम्बासीकै रोहबरमा आयोग बन्ना साथ पुर्जा वितरण गर्न सघाउने र त्यसको जिम्मेवारी दलहरुले लिने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, प्रतिबद्धता हरेक निर्वाचनमा हुने गर्छ तर, पुर्जा नपाएको स्थानीय शिवलाल क्षेत्रीले बताए । उनले भने, ‘नेताले पुर्जा दिन्छौँ भन्दै भोट माग्दै ढाँट्न थालेको ४० वर्ष भईसक्यो कसरी विश्वास गर्ने ? कांग्रेस गण्डकी प्रदेशका सांसद विष्णु लामिछाने सुकुम्बासी आयोगले जग्गा धनी पुर्जा दिन सक्ने अधिकार राख्ने भएको र यहि चैत्र भित्र आयोग गठन हुने प्रकृयामा रहेकाले बताउनुभयो । 

‘बसोबास गरेको ठाउँमा उनीहरुले भोगचलन गरेको जग्गाधनी पुर्जा दिन समस्या छैन,’ उहाँले भन्नुभयो, ‘आयोग गठन हुनासाथ प्राथामिकतामा राखेर जिल्लाभरीका सुकुम्बासी समस्याको समाधान गरिने सबै दलबाट प्रतिबद्धता आईसकेको छ ।’ 

एमाले, माओवादी केन्द्र र जनता समाजवादीका जिल्ला नेताहरुले सुकुम्बासी वस्ती झाक्रेमा भेला भएर उनीहरुलाई जग्गाधनी पुर्जा दिलाउने जिम्मेवारी आफूहरुको भएको बताएका छन् । निर्वाचन नजिकिँदै जाँदा सुकुम्बासी वस्तीमा प्रचारमा समेत आउन नदिएपछि दलका नेताहरुको ध्यानाकर्षण भएको हो । 


प्रतिक्रिया