प्रदेश १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग

असार १३, २०७९

प्रदेश १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न सरोकारवालाले माग गरेका छन् । विदेशी मुद्रा आर्जन गर्ने प्रदेशकै मुख्य बाली भएकाले यसको समग्र समस्या समाधान तथा प्रवद्र्धनका लागि चिया विशेष क्षेत्र घोषणा आवश्यक रहेको उनीहरुको भनाई छ । आवश्यक नीति निर्माण गरी प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्दै चियालाई कृषि, पर्यटन र उद्योगमार्फत अन्तर्राष्ट्रिय क्षेत्रसम्म जोड्नुपर्नेमा उनीहरुको जोड छ । 

मुलुकमा उत्पादित मध्ये ९५ प्रतिशत चिया प्रदेश १ मा उत्पादन हुने भएकाले पनि चिया विशेष क्षेत्र घोषणा आवश्यक रहेको उनीहरुको दाबी छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका निमित्त प्रमुख सुमन त्रिखत्रीले ९५ प्रतिशतभन्दा बढी चिया प्रदेश १ मै उत्पादन हुने भएकाले विशेष क्षेत्र घोषणाले चिया क्षेत्र प्रवद्र्धनमा महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले छिमेकी मुलुक भारतमा पछिल्लो समय चिया पर्यटन राम्रो फस्टाएकाले नेपालमा पनि सो कार्यको थालनी हुनुपर्नेमा जोड दिनुभयो । चिया क्षेत्रमा दशकौंदेखिका समस्या सुनुवाई नभएको अवस्थामा विशेष क्षेत्र घोषणाले त्यस्ता समस्या समाधान हुनुपर्ने उहाँको भनाई थियो । 


प्रतिक्रिया