चुनावमा सिट भागबन्डा गर्दा व्यवहारिक बन्न नेतृत्वलाई कंग्रेस नेताहरुको सुझाव

रेडियो कान्तिपुर संवाददाता

श्रावण २३, २०७९ | काठमाडौं


सत्तारुढ कांग्रेस संस्थापन इतरपक्षले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटमा व्यावहारिक, वैज्ञानिक र स्वभाविक प्रकृतिको चुनावी तालमेल गर्न सुझाएको छ । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा छलफल भइरहँदा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहान भेटी नेताहरुले सबैलाई न्याय हुने गरी गठबन्धनमा सिट बाँडफाँट गर्नुपर्ने बताएका थिए । पूर्वउपसभापतिद्वय विजयकुमार गच्छदार, विमलेन्द्र निधि, सहमहामन्त्री उमाकान्त चौधरी, महेन्द्र यादव, किशोरसिंह राठौर, भीष्मराज आङदेम्बे, जीवन परियार र नेता प्रकाशमान सिंह लगायत उपस्थिति थियो । 

सो क्रममा नेताहरुले गठबन्धनका उम्मेदवार विजयी हुने कुरालाई केन्द्रमा राखेर गठबन्धन गर्नुपर्ने बताएको सहमहामन्त्री जीवन परियारले बताउनुभयो । नेताहरुले पार्टीको स्थानलाई उच्च तहमा राख्दै सिट बाँडफाँटमा भूमिका निर्वाह गर्न सभापति देउवालाई सुझाएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सिट बाँडफाँटका लागि गठित कार्यदलको सुझावका आधारमा अघि बढ्ने बताउनुभएको नेताहरुले बताएका छन् । सरकारले मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँंगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

 यसैवीच, सत्तारुढ ५ दलको कार्यदलको पहिलो बैठकले कंग्रेस नेता कृष्ण सिटौलालाई संयोजक तोकेको छ । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले दलहरुको आन्तरिक छलफलपछि आगामी साउन २६ गते अर्को बैठक बस्ने निर्णय समेत भएको बताउनुभयो ।


प्रतिक्रिया