क्षयरोग नियन्त्रणमा सकस

असार २०, २०८२

दातृ निकायबाट आउने अनुदान कटौती हुने भएपछि क्षयरोग नियन्त्रणमा समस्या हुने भएको छ । ग्लोबल फण्डले ४० प्रतिशत अनुदान कटौती गर्ने तयारी गरेसँगै क्षयरोगको खोज पड्ताल तथा उपचारमा समस्या हुने भएको हो । ग्लोबल फन्डबाट आउने बजेट कटौती हुँदा क्षयरोग प्रभावित ४२ जिल्लामा भइरहेको कार्यक्रम प्रभावित हुने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले जानकारी दिनुभयो । ग्लोबल फन्डले यसअघि उपलब्ध गराउँदै आएको बजेटमा ४० प्रतिशतसम्म कटौती हुन सक्ने पत्र पठाएको तिवारीले बताउनुभयो ।

वर्षेनी क्षयरोगी बढ्दै जानु र क्षयरोग नियन्त्रणमा दातृनिकायको सहयोग भने घट्दै जाँदा क्षयरोग महामारी अन्त्य गर्न समस्या हुने भन्दै चिन्ता व्यक्त भएको छ । नेपालमा गत वर्ष ४० हजार ७ सय ७६ जना नयाँ क्षयरोगका बिरामी भेटिएका थिए  । बजेट पर्याप्त नहुदा विश्व स्वास्थ्य संगठनले दिएको समयसिमा सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्न चुनौती थपिएको छ । नेपालले सन् २०५० सम्ममा क्षयरोगलाई पूर्ण रूपमा उन्मूलन गर्ने लक्ष्य लिएको छ । सरकारले क्षयरोग नियन्त्रणमा चालु आर्थिक वर्षका लागि ६५ करोड रुपैयाँ बजेट छुट्याएको छ । 


प्रतिक्रिया