पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

पुस १७, २०७९ | पोखरा
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज पर्यटकीय नगरी पोखरामा आयोजित एक विशेष समारोहमा विमानस्थलको औपचारिक उद्घाटन गर्नुभयो । उद्घाटनसँगै हिमालय एयरलाइन्सले ‘डेमो’ उडान भरेको छ । यद्यपी अन्तर्राष्ट्रिय नियमित उडान भने फागुन दोस्रो सातापछि मात्रै खुला हुनेछ ।
पुरानो विमानस्थलदेखि तीन किलोमिटर पूर्व छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्ब रुपैयाँ चिनियाँ ऋण लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो । नयाँ विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउनुअघि पुरानो विमानस्थलबाट जोमसोम चल्ने साना जहाज, हेलिकोप्टर र अल्ट्रालाइट चल्नेछन् ।
त्यसपछि ६ दशक पुरानो विमानस्थल पूर्णरुपमा विस्थापित हुनेछ । उद्घाटनको खुसियालीमा पोखरा महानगरले आज सार्वजनिक बिदा दिइएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसंगै पोखरेली बासीको करिब पाँच दशकअघिको सपना पूरा भएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।