गोरखा–काठमाडौ एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा

पुस २१, २०७९ | गोरखा

गोरखा राज्य बिस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदल मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । गोरखा राज्य बिस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखा–काठमाडौ एकीकरण मार्गमा बिहीबारबाट पदयात्रा सुरु भएको हो । 

गोरखा दरवारस्थित हनुमान भञ्ज्याङबाट बिहीबार सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौ हनुमानढोकामा पुगेर टुंगिने सेनाको रिपुमर्दन गणका गणपति हेम विष्टले बताउनुभयो । पृथ्वीनारायण शाहकालीन पोशाकमा सजिएका नेपाली सेनाको टोली यात्रामा सहभागी छन् । 

कालो दौरा सलवार, टाउकोमा चातोडा, कम्मरमा खुकुरी हातमा भरुवा बन्दुक सहित शाहकालीन पोशाकमा सजिएका नेपाली सेनाको सार्दुल जंग गुल्मको टुकडी र नेपाली सेनाको रिपुमर्दन गणले संयुत्त रुपमा गोरखाबाट यात्रा सुरु गरे । गोरखा दरवारबाट हनुमानढोका सम्मको २६ कोषको दूरीको यात्रा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पौष २७ गते टुङ्गिने छ । 

यात्राको पहिलो दिन सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दिपक कुमार बानियाँले राष्ट्रिय झण्डा तथा टर्च गोरखा खण्डको नेतृत्व गर्ने रिपुमर्दन गणका यात्रामा सहभागी नेपाली सेनालाई हस्तान्तरण गर्नुभयो । टर्च, नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको पहिलो कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, सबुज र बबर्दबहादुर) को झण्डा सहित यात्रा सुरु भएको हो ।

सेनाका पाँच कम्पनी पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाले जनाएको छ । रिपुमर्दन गणले यात्राको पहिलो दिन बिहीबार हनुमानभञ्ज्याङबाट ताप्ले–अश्राङ–बोर्लाङसम्मको पहिलो खण्डको यात्रा पूरा गर्नेछ । गोरखा खण्डको नेतृत्व सेनाको रिपुमर्दन गणका उपसेनानी बम बोगटीले गर्नु भएको छ ।

पहिलो दिनको गोरखा खण्डको यात्रामा ३० जनाको टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ । बिहीबार साँझ गोरखा–धादिङ सीमा क्षेत्रको घाटबेशीमा टर्च र झण्डा धादिङको शिवदल गणलाई हस्तान्तरण हुने विष्टले जानकारी दिनुभयो ।

धादिङ खण्डमा शिवदल गणले दुई दिन, नुवाकोट खण्डमा जवरजङ गणले एक दिनको यात्रा हुँदै काठमाडौं पुग्ने गरी यात्रा तय गरिएको छ । २६ गते काठमाडौ खण्डको यात्रापछि हस्तान्तरण भएको टर्च र नेपालको राष्ट्रिय झण्डा सहित हनुमानढोकाको सार्दुल जंग गुल्म पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रममा सरिक हुनेछ ।

यात्राले नेपाल एकीकरण पदमार्ग तथा ऐतिहासिक धरोहरको बारेमा भावी पुस्तालाई जानकारी गराउन सघाउ पुग्ने नेपाली सेनाको विश्वास छ । इतिहासको पुनर्जागरण गराउन अभियानले सघाएको गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले बताउनुभयो । इतिहासको संरक्षण गर्दै सुरु भएको अभियानले पर्यटन प्रवर्धनमा पनि सघाउने उहाँको भनाई छ ।

नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गराउन नेपाली सेनाले चार वर्ष अघिबाट पदयात्रा कार्यक्रम सुरु गरेको थियो ।


प्रतिक्रिया