एसईईको उत्तरपुस्तिका संपरीक्षण हुँदै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १४, २०८०

राष्ट्रिय परीक्षा बोर्ड , परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गत चैत्रमा सम्पन माध्यमिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण, संपरीक्षण भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको कार्य भइरहेको जानकारी दिनुभयो । 

असारको दोश्रो साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको पनि उहाँको भनाई थियो । गत चैत्र १७ देखि २९ गतेसम्म भएको परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ जना परीक्षार्थि सहभागि भएका छन् । जसमध्ये २ लाख ४२ हजार ६ सय ७४ जना छात्र र २ लाख ४२ हजार ७ सय १२ जना छात्रा रहेको पनि कार्यालयले जनाएको छ । 

परीक्षामा १२ हजार ८३ वटा विद्यालयका परीक्षार्थी सामेल थिए । जसमा प्राविधिक तर्फका ५ सय ६ वटा विद्यालयका परीक्षार्थी पनि थिए । पाठ्यक्रम विकास केन्द्रले तय गरेको ९५ वटा विषयमध्ये ८७ वटा विषयमा प्रश्नपत्र तयार गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसैबीच कक्षा १२ को परीक्षा सकिएसंगै उत्तरपुस्तिका परीक्षणको तयारी भइरहेको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका अनुसार श्रावन मसान्तभित्र परीक्षाफल सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।  


प्रतिक्रिया