सुनसरीमा जारी कर्फ्यु बिहान १० बजेसम्म लम्ब्याइयो

चैत्र २६, २०८० | सुनसरी

सुनसरीको हरिनगर र देवानगञ्ज लगायत क्षेत्रमा चार दिनदेखि लगाइएको कर्फ्यु आज बिहान १० बजेसम्मका लागि लम्ब्याइएको छ । 

हिजो अपराह्नपछि फेरि प्रदर्शन चर्किएकोले स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु लम्ब्याएको हो । 

हरिनगरमा हिजो अपराह्न प्रदर्शन हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाइ फायर र २९ सेल अश्रु ग्यास प्रहार गरेको थियो । 

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्नुका साथै कुटपिट गर्दा प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारी सहित नौ घाइते भएका थिए । 

प्रदर्शन हिंसात्मक बनेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले हरिनगर र देवानगञ्ज गाउँपालिकाको सबै क्षेत्रमा कर्फ्यु लगाएको हो ।

इनरुवा नगरपालिका, कोशी र भोक्राह नरसिंह गाउँपालिका क्षेत्रमा लगाइएको कर्फयु भने केही खुकुलो गरिने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । 

गत बिहीबार हरिनगर गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अवस्था असामान्य बनेको हो । दुई समूहबीच घटनाले सामाजिक सद्भाव भड्किन नदिन गत बिहीबारदेखि कर्फ्यु लगाइएको हो ।


प्रतिक्रिया