रकम उठाएर पाडी वितरण नगरेपछि जिरी नगरपालिका ७ मा स्थानीयको तालाबन्दी

श्रावण ३, २०८१ | दोलखा

 पशुपालक किसानका लागि साझेदारी कार्यक्रम अन्र्तगत भैसीको पाडी खरिदका लागि साझेदारी रकम उठाएर पाडी खरिद नगरेको भन्दै जिरी नगरपालिका– ७ को वडा कार्यालयमा स्थानीयले तालावन्दी गरेका छन् ।

वडाले ५६ जनास्थानीयसँग साझेदारी कार्यक्रम मार्फ पाडी वितरणका लागि ५ लाख ६० हजार रुपैयाँ उठाएर पाडी वितरण नगरेको भन्दै स्थानीयले बिहिबार वडा कार्यालयमा ताला लगाएका हुन् । ताला लगाएपछि वडाको कामकाज ठप्प भएको छ ।

वागमती प्रदेश सरकारले विनियोजन गरेको साझेदारी कार्यक्रम अन्तगर्त जिरी नगरपालिकाले पशुपालन प्रवद्र्धन कार्यक्रम गर्न गएको आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट वडाका लागि विनियोजन गरेको थियो ।

तर सो वडाका अध्यक्ष शान्त नेपालीले साझेदारीका लागि रकम उठाएर पाडी खरिद नगरेर सम्पर्कविहीन बनेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । यस्तै विपन्न तथा दलितका लागि कृषि तथा पशुपालनमा आएको २ लाख बजेटसमेत जनप्रतिनिधीले आँफैले चौपाया किनेर दुरुपयोग गरेको स्थानीयको आरोप छ

। वडासदस्य दिपक जिरेलले प्रदेशबाट साझेदारी कार्यक्रम मार्फत ७ वडा छनोट भएको र १० लाख बजेट आएको बताउनुभयो । पाडी वितरणका लागि साझेदारी अन्तगर्त सोही अनुरुप किसानसँग निवेदन माग गर्दा ६० जनाको मात्रै आएको वडा कार्यायलले जनाएको छ ।  


प्रतिक्रिया