प्रतिकूल मौसमले मन्थली विमानस्थलको उडान प्रभावित

आश्विन ३०, २०८१ | काठमाडौं

प्रतिकूल मौसमका कारण रामेछापको मन्थली विमानस्थलमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा प्रतिकूल मौसमका कारण उडान हुन नसकेपछि मन्थली विमानस्थलबाट लुक्ला जाने पर्यटकसहितका यात्रु समस्यामा परेका छन् । उडान प्रभावितका कारण सगरमाथा क्षेत्र जाने र आउने स्वदेशी र विदेशी पर्यटक समस्यामा परेका हुन् ।

मन्थली विमानस्थलका उप–प्रबन्धक हिरण्य शाहले प्रतिकूल मौसमले गर्दा लगातार दुई दिन मन्थली–लुक्ला उडान प्रभािवत भएको बताउनुभयो ।

लुक्लाको मौसम आज सफा भएपनि मन्थली आसपासमा भने बिहानैबाट कुहिरो लागेको शाहले जानकारी दिनुभयो । मन्थलीबाट लुक्ला जाने पर्यटक मौसम खुल्ने आशामा बसेका छन् भने कतिपय जिरी हुँदै सगरमाथा क्षेत्रमा पैदल जान थालेका छन् ।

मौसम खुलेको समयमा बिहानदेखि साँझसम्म दैनिक ३ वटा एयरलायन्सले ५५ भन्दा बढी उडान भर्दै आएका छन् । मन्थली विमानस्थलबाट निजी क्षेत्रका समिट, तारा र सीता एयरलायन्सले लुक्लामा उडान भर्दै आएका छन् ।  


प्रतिक्रिया