भ्रष्टाचारीको संरक्षणमा सरकार केन्द्रित रहेको अध्यक्ष दाहालको टिप्पणी

कार्तिक ७, २०८१

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गर्नु भएको छ । पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा दाहालले सरकार गठनहुँदा नै आशंका गरेकोविषय पुष्टि गर्ने काम भएको बताउनुभयो । विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत सरकारको कामप्रति असन्तुष्टि जनाइरहेको उहाँको भनाई थियो । सरकारले गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको पनि उहाँको भनाई थियो ।

उद्योगहरुको बक्यौता महसुस उठाउन खोज्दा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको दाहालको भनाइ थियो ।

सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उहाँले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताउनुभयो । सरकारका गलत क्रियाकलापको विरोधमा सडकबाट समेत आवाज उठाउने माओवादी तयारी रहेको उल्लेख गर्दै उहाँले आगामी कात्तिक १० गते पार्टीका वाग्मती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न थालिएको जानकारी दिनुभयो ।

पार्टीको पक्षमा देशव्यापी राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धिजीवी संगठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन उहाँले आग्रह गर्नुभयो । 


प्रतिक्रिया