साफ महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

कार्तिक ८, २०८१ | काठमाडौं

साफ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने समूह ‘बी’को खेलमा आयोजक नेपाल र श्रीलंकाबीचको प्रतिस्पर्धा साँझ साढे ५ बजे सुरु हुनेछ । 

आजको खेलपछि समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । नेपालले यसअघि भुटानसँग बराबरी र माल्दिभ्सविरुद्ध फराकिलो जित दर्ता गरेको थियो । 

समूह तालिकामा नेपाल र भुटानको समान ४÷४ अंक छ । तर, गोल अन्तरका आधारमा नेपाल समूहको शीर्ष स्थानमा रहेको छ । श्रीलंका तीन अंकका साथ तेस्रो स्थानमा छ । श्रीलंकासामु अझै पनि नेपाललाई स्तब्ध पार्ने सम्भावना छ । यदि श्रीलंकाले आज नेपाललाई हराए सेमिफाइनलमा स्थान बनाउन सक्नेछ ।

प्रतियोगिता अन्तर्गत आजै हुने दिनको पहिलो खेलमा भुटानले कमजोर माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । दशरथ रंगशालमा हुने यी दुई टोलीबीचको खेल दिउँसो साढे एक बजे सुरु हुनेछ । 

लगातार दुई खेलमा पराजित माल्दिभ्सको चुनौती भने समाप्त भईसकेको छ । सोही कारण पनि आज नेपाललाई श्रीलंकाविरुद्ध जित दर्ता गर्नुपर्ने दबाब छ । भुटान पनि माल्दिभ्सलाई फराकिलो अन्तरले हराएर समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।


प्रतिक्रिया