बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

कार्तिक ८, २०८१ | काठमाडौं

साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार साँझ भएको समूह ‘ए’को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–१ गोलले पराजित गरेको हो । 

समूह चरणको अन्तिम खेलमा भारतलाई पराजित गरेसँगै बंगलादेशले समूह विजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेको हो । यस जितसँगै बंगलादेशले उपाधिमाथि आफ्नो बलियो दाबेदारी पनि प्रस्तुत गरेको छ । 

बंगलादेशले सन् २०२२ मा पनि लिग चरणमा भारतलाई हराएको थियो । भारतमाथि बंगलादेशको अहिलेको जित दोस्रो मात्रै हो । यो जितसँगै बंगलादेश २ खेलमा ४ अंकसहित समूह तालिकाको शीर्ष स्थानमा रह्यो । 

भारत भने यसअघि नै सेमिफाइनल पुगिसकेको छ । भारतको तीन अंक छ । एक अंक भएको पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ । 

प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’को अन्तिम खेल हुनेछन् । पहिलो खेलमा भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । साँझ साढे ५ बजे हुने दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ ।


प्रतिक्रिया