प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

मंसिर ७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकोमा खुसी व्यक्त गर्नुभयो । 

उहाँले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस भएको भन्दै सेनाध्यक्ष द्विवेदीले दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, नेपाली सेनाका उपरथी मधुकर कार्कीलगायतको उपस्थिती रहेको थियो ।  


प्रतिक्रिया