चीनले थप ९ देशलाई निःशुल्क भिसा दिने
मंसिर ७, २०८१ | काठमाडौं
चीनले थप ९ देशहरुका लागि निःशुल्क भिसा उपलब्ध गराउने भएको छ ।
चीनको विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै निःशुल्क भिसा नीति अनुसार ती देशहरुलाई छुट दिन लागेको जनाएको हो ।
सो नीतिअनुसार जापान, बुल्गेरिया, रोमानिया, क्रोएसिया, मोन्टेनेग्रो, उत्तरी म्यासेडोनिया, माल्टा, इस्टोनिया र लात्भियालाई निःशुल्क भिसा उपलब्ध गराउने भएको हो ।
यी देशहरुको पासपोर्ट बोकेका नागरिकहरुले सन् २०२४ नोभेम्बर ३० देखि डिसेम्बर ३१ सम्म १ महिनालाई निःशुल्क भिसा पाउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि चीनले २९ देशलाई निःशुल्क भिसा उपलब्ध गराउने जानकारी दिएको थियो ।
समग्रमा ३८ मुलुकले निःशुल्क भिसामा चीनमा भ्रमण गर्न पाउनेछन् । साधारण पासपोर्ट बहाकले व्यापार, पर्यटन, आफन्त र साथीहरूसँग भेटघाटको लागि बढीमा ३० दिन विना भिसा चीन प्रवेश गर्न पाउने भएका हुन् ।