काठमाडौं महानगरपालिकामा पूर्व मेयर सिंहको निधन
पुस १, २०८१ | काठमाडौं
काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहंदै आएका सिंहको ८८ वर्षको उमेरमा काठमाडौंको चाक्सीबारीस्थित निवासमा गएराति निधन भएको हो ।
सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । २०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका सिंह कांग्रेसबाटै सांसद समेत हुनुभएको थियो ।
उहाँकै कार्यकाल २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो । उहाँले लौहपुरुष गणेशमान सिंहको प्रमुख सहयोगी भएर समेत काम गर्नु भएको थियो ।
२०५६ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिंह कंग्रेस नेतृत्वको सरकारमा मन्त्री बन्नुभएको थियो । पछि कांग्रेसको राजनीतिबाट वितृष्णा जागेको भन्दै उहाँ निष्कृय हुनुहुन्थ्यो ।
सिंहको पार्थिक शरीरलाई श्रद्धान्जलीका लागि निजी निवासमा राखेर केहीबेरअघि ललितपुरको सानेपास्थित कांगे्रस पार्टी मुख्यालयमा लगिएको छ । आजै उहाँको अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।
यसैबीच, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख सिंहको निधनको शोकमा आज महानगरपालिका र मातहतका कार्यालयमा सार्वजनिक बिदा दिइएको छ । सोमबार अत्यावश्यक सेवा बाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने महानगरपालिकाले जनाएको छ । लोकतान्त्रिक अभियानका एक आदर्शवादी राजनीतिज्ञको छवि बनाएका सिंहले २०४६ सालको आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएको थियो ।