कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

पुस २, २०८१

मोरङको धनपालथान गाउँपालिका–३ को उमा–गौरी सहकारीको रकम अपचलन मुद्दाका प्रतिवादी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । न्यायाधीश अरुणकुमार झाको इजलासले कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले कोइरालासहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

त्यसअघि गत भदौ २४ गते सहकारी रजिस्ट्रार कार्यालयले कोइरालाको नाम काटेर अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह तथा सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जीतमान ठाकुरको नाम अनुसन्धानगर्न प्रहरीलाई पठाएको थियो । त्यस्तै, लेखा समिति संयोजक विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र ओशककुमार विश्वासको नाममा समेत थप अनुसन्धानका लागि प्रहरीमा पत्र पठाइएको छ । इलाकाप्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले गत शुक्रबार अञ्जला र सहकारीका अध्यक्ष रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।


प्रतिक्रिया