मकवानपुरको सर्वोत्कृष्ट दुईवटा विद्यालय मर्ज गरिने
पुस २, २०८१
मकवानपुरकै सर्वोत्कृष्ट विद्यालयको रुपमा स्थापित भुटनदेवी र आधुनिक राष्ट्रिय उच्च माध्यमिक विद्यालयको एकीकरण प्रक्रिया अगाडि बढाइएको छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आएको दुबै विद्यालयलाई मर्ज गरी मेगा विद्यालयको रुपमा अगाडि बढाउन लागिएको हो ।
हेटौंडालाई शैक्षिक हबको रुपमा विकास गर्ने उद्देश्यले दुबै विद्यालय व्यवस्थापन समितिको निर्णय, वडा कार्यालयको सिफारिससहित वडा अध्यक्ष, दुबै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहितको टोलीले हेटौंडा नगर प्रमुख मीनाकुमारी लामालाई आवश्यक पत्र बुझाएर प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष नवीन सिग्देलका अनुसार हाल दुबै विद्यालयमा करिब ५ हजार विद्यार्थी अध्ययनरत छन् ।
हेटौंडामा बारा, पर्सा, रौतहट, सर्लाहीलगायत तराईका जिल्लाबाट अध्ययनका लागि जाने विद्यार्थीको संख्या वर्षेनी बढ्दो रहेको अध्यक्ष सिग्देलले बताउनुभयो ।