लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगियो

पुस २, २०८१ | काठमाडौं

कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेको लामिछानेलाई ४ दिन म्याद थपको माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको अदालतका स्रेस्तेदार राजन खनालले बताउनुभयो । 

लामिछाने गत कात्तिक ३ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् । कास्की प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान सकेर हिजो सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय सर्वसाधारणको बचत अपचलनमा अन्य ५० जनालाई जस्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि मुद्दा चलाउने सिफारिस सहित प्रतिवेदन बुझाएको छ । 

लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र त्यति नै जरिवाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस गरिएको हो । सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका तथा फरार रहेका १९ व्यक्तिविरुद्ध २०८० असोज १८ मा मुद्दा दर्ता भइसकेको छ ।

मुद्दा चलाइएका मध्ये गोर्खा मिडिया नेटवर्कका अध्यक्ष समेत रहेका जीबी राई फरार छन् । सोही कम्पनीका सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि २०८० भदौदेखि कास्की कारागारमा छन् । अब लामिछानेसहित ३२ जनलाई मुद्दा चलाउन र समग्रमा सहकारीको कुल १ अर्ब ३५ करोड असुल गर्न प्रहरीको राय छ । 


प्रतिक्रिया