सामुदायिक विद्यालयले विवरण अद्यावधिक गरेनन् !

पुस ४, २०८१

सामुदायिक विद्यालयहरुले सरकारले तोके अनुसारको विवरण पूर्ण रुपमा अद्यावधिक नगरेको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार विद्यालय शिक्षासँग सम्बन्धित विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था भएपनि अधिकांश विद्यालयहरुले विद्यार्थीसँग सम्बन्धित विवरण मात्र राखी शिक्षक, भौतिक तथा व्यवस्थापकीय पक्ष सम्वन्धि अन्य विवरण पूर्ण रुपमा अद्यावधिक गरेका छैनन् । 

विवरण अद्यावधिक नहुँदा शिक्षक व्यवस्थापन, दरबन्दीको पुनः वितरण, दरबन्दी मिलान लगायतमा कठिनाइ भएको केन्द्रका निर्देशक भक्तबहादुर गोदारले बताउनुभयो । दरबन्दी मिलान प्रयोजनका लागि सबै विद्यालयलाई शिक्षक तथा भौतिक र व्यवस्थापकीय पक्षसँग सम्वन्धि विवरण राख्न केन्द्रले आग्रह गरेको छ । केन्द्रका अनुसार हाल आधारभूत तहको कक्षा १ देखि ५ सम्म ८० हजार १ सय ७६ जना शिक्षकको दरबन्दीमा शिक्षक कार्यरत छन् । त्यस्तै राहत तर्फ २१ ह्जार ८ सय ७१ जना शिक्षक रहेको केन्द्रले जनाएको छ । 

कक्षा ६ देखि ८ सम्म १६ हजार २ सय २५ र राहतमा ९ हजार ६ सय ९ जना शिक्षकको दरबन्दी रहेको केन्द्रका तथ्यांक छ । यस्तै मावि तह कक्षा ९ र १० का लागि दरबन्दीमा १४ हजार ७ सय ३४ जना शिक्षक कार्यरत छन् भने ६ हजार ७ सय ५८ जना राहत तर्फ शिक्षक कार्यरत रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ । केन्द्रका अनुसार निमावि र माविमा आवश्यकता दरबन्दी अनुसार नै शिक्षक छन् भने कक्षा १ देखि ५ सम्म भने शिक्षकको संख्या धेरै रहेको केन्द्रले जनाएको छ । 


प्रतिक्रिया