नेपालका केही जिल्लामा धक्का

पुस २३, २०८१

कोशी प्रदेशका संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, पाँचथर तथा बागमति प्रदेशका काठमाडौ उपत्यकासहित उत्तरतर्फ तिब्बतसँग सीमाना जोडिएका जिल्लाहरुमा ठूलो धक्का महसुस भएको थियो । कोशी प्रदेशका इलाम, झापा, सुनसरी, मोरङ तथा मधेस प्रदेशका जिल्लामा सामान्य धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । 

कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका जिल्लामा क्षतिको विवरण संकलन भइरहेको बताइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार भूकम्पबाट केही जिल्लामा सामान्य भौतिक क्षति भएकोे छ । भुकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा गरी दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ मा हर्कबहादुर खत्रीको कच्ची घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आङ्मा शेर्पाको कच्ची घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो । 

भूकम्प आउँदा काठमाडौंको नागार्जुन नगरपालिकामा एक व्यक्ति अत्तालिएर डेढ तले घरबाट हाम फाल्दा खुट्टामा चोट लागेको छ । बारामा भूकम्पका कारण आत्तिएर ११ जना विद्यार्थी बेहोस भएका थिए । उनीहरूको अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया