दानपेटिकाबाट करीब डेढ करोड रुपैयाँ संकलन
पुस २४, २०८१ | तिलोत्तमा
बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट करीब डेढ करोड रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत दोस्रोपटक गणना गरिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिन लगाएर दानपेटिकाको गणना गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताउनुभयो । स्थानीय तह, सुरक्षाकर्मी प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा दानपेटिका खोली गणना गरिँदै आएको उहाँको भनाई छ ।
दान पेटिकाबाट संकलित रकम कोषको महत्वपूर्ण आम्दानीको स्रोत भएको भट्टराईले बताउनुभयो । दानपेटिकामा संकलित दानलाई सीसीटिभी क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरु खटाएर गणनाको व्यवस्था मिलाइएको थियो ।
मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरु श्रद्धाले दान गर्छन् । दानवापत संकलित आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको कोषले जनाएको छ ।