मुलुकमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमालेको निष्कर्ष
पुस २३, २०८१
सत्तारुढ एमाले केन्द्रीय कमिटीले नेपाली काँग्रेससँगको गठबन्धनमा सरकार गठन भएसँगै मुलुकमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको छ । तीन दिन चलेको बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर एमाले र कांग्रेस सम्मिलित सरकारले राजनीतिक स्थायित्वको आशा बढाएको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
बैठकले विभिन्न १४ बुँदे प्रस्ताव पास गरेको छ । केही महत्वपूर्ण उपलब्धि हासिल गरेपनि केही काममा पार्टी केन्द्रित हुन नसकेको भन्दै बैठकले सरकारको ध्यानाकर्षण गराएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।
एमालेले देशभित्रै केही गरौँ भन्ने हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग र साझेदारी गर्दै उद्यमशीलताको विकास गर्न, उनीहरूलाई उत्पादन, रोजगारी र स्वरोजगारीमा जोड्न तथा सूचना प्रविधि लगायत क्षेत्रमा उपयुक्त वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरु गरेका कदमहरू सकारात्मक रहेका उल्लेख गर्दै एमालेले भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अधिकार सम्पन्न र साधन स्रोतयुक्त बनाउन सरकारलाई आग्रह गरेको छ । संविधान कार्यान्वयनको दशवर्ष हुन लागेको उल्लेख गर्दै एमालेले वृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारलाई भनेको छ । एमालेले पार्टी विभाजन गरेर गएका नेता–कार्यकर्तालाई पार्टीमै फर्किन आग्रह समेत गरेको छ ।