माओवादीले आगामी फागुन १ गतेबाट छ महिना देशव्यापी अभियान सञ्चालन गर्ने
पुस २३, २०८१
अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन पारित गर्दै प्रतिपक्षी माओवादी केन्द्रको केन्द्रिय समिति बैठक सम्पन्न भएको छ । १ सय भन्दा बढी सदस्यले धारणा राखेपछि सबैको विचारको प्रतिनिधित्व हुनेगरी परिमार्जन गर्नेगरी बैठकले पार्टीलाई उत्पादनसँग जोड्ने तथा समाजवादी यात्रामा अघि बढाउने उद्देश्यसहितको प्रतिवेदनमा पारित गरेको हो ।
माओवादी केन्द्रले आगामी फागुन १ गतेबाट छ महिना देशव्यापी अभियान सञ्चालन गर्ने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर महाधिवेशनमा जाने नीति लिएको छ । बैठक समापन गर्दै अध्यक्ष दाहालले अर्को बर्षको असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने बताउनुभयो । फागुन १ गते जनयुद्ध दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले संगठनात्मक कार्ययोजना समेत पारित गरेको नेता सरल सहयात्रीले जानकारी दिनुभयो ।