रास्वपा सभापति लामिछाने काठमाण्डौं जिल्ला अदालतमा आइतबार उपस्थित हुने

पुस २६, २०८१

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप सम्बन्धी अर्को मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा पर्सिं आइतबार मात्र उपस्थित हुनु हुने भएको छ । सम्बन्धीत निकायहरुसँगको सम्पर्क र समन्वयमा आइतबार विहान साढे ८ बजे अदालतमा हाजिर हुने रास्वपाका सहकोषाध्यक्ष दिपक बोहोराले जानकारी दिनुभयो । कास्की जिल्ला अदालतको आदेशपछि धरौटीमा रिहा हुनुभएका लामिछाने आज नै उपस्थित हुने भनिएपनि कास्कीमा आवश्यक कानुनी कार्य सकेर काठमाडौंतर्फ जाने क्रममा रहेकाले पर्सि मात्र हाजिर हुने बोहोराले बताउनुभयो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो । कास्कीको सूर्यदर्शन सहकारीसहित अन्य सहकारीमा परेको मुद्दाको अनुसन्धानका लागि लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले लामिछानेलाई हिजो ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो । लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा अदालतमा उपस्थित गराउन लागिएको हो । 


प्रतिक्रिया