पार्टीभित्र एकता भए अर्को चुनावमा बहुमत आउँछः कांग्रेस सभापति देउवा
माघ २१, २०८१ | काठमाडौं
नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र एकता स्थापित भए अर्को चुनावमा बहुमत प्राप्त गर्ने बताउनुभएको छ ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र गण्डकी प्रदेश समितिको व्यवस्थापनमा आज पोखरामा प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुखलाई आयोजित अभिमुखीकरणमा बोल्दै उहाँले पार्टीभित्र एकता जरुरी रहेको बताउनुभयो ।
त्यस्तै सबै जातजातिको प्रतिनिधित्व गर्ने काम अहिलेको संविधानले गरेको उहाँको भनाई छ । संविधानमा बहुमत प्राप्त गर्न त्यति सजिलो नभएको भन्दै पार्टी एक भएर हिँडेको खण्डमा, आफ्ना मतभेदहरु बिर्सिएर पार्टीमा एकता स्थापित गर्न सबैको सहयोग मिलेमा कांग्रेसले बहुमत प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो । पार्टी एकता कायम गर्न सके लोकतन्त्र, समावेशी समानुपातिक राजनीति, संघीय प्रणालीलाई सुदृढ गर्ने चुनौतीको सामना गर्न सकिने सभापति देउवाको भनाई छ ।
देशको विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्छ भन्ने मान्यता अनुसार संघीय राजनीतिमा अघि बढेको उहाँले बताउनुभयो । त्यस्तै समावेशी, समानुपातिक सहितको नेपालको राजनीतिक प्रणाली अत्यन्तै उत्तम व्यवस्थाका रुपमा स्थापित भएको बताउँदै अन्य देशका लागि पनि उदाहरणीय भएको उहाँले उल्लेख गर्नुभयो ।