विवाहको उमेर बहसः छलफल भइरहेको गृहमन्त्री लेखकको भनाई

चैत्र १०, २०८१

नेपालमा विवाह गर्ने उमेर घटाउनुपर्ने बहस भइरहेका बेला गृहमन्त्री रमेश लेखकले यसबारे दुई वटा विकल्पमा जान सकिने बताउनुभएको छ । संसदको कानून समिति बैठकमा बोल्दै मन्त्री लेखकले मन्त्रिपरिषदमा पुगेको बालबालिकासम्बन्धी ऐनमा छलफल भइरहेको बताउनुभयो ।

मुलुकी संहिता अनुसार विवाह गर्ने केटाकेटी दुवैको उमेर २० वर्ष हुनुपर्ने व्यवस्था छ । तर पछिल्लो समय विवाह गर्ने उमेर १८ वर्ष बनाउनुपर्ने माग भइरहेका छन् । संसदको कानुन समितिले गरेको अध्ययन र सरकारले बनाएको कार्यदलले विवाह गर्ने उमेर १८ वर्ष राख्न सुझाव दिएको छ । सो बिषयबारे सार्वजनिक वृत्तमा बहस भइरहेका बेला कानून समितिको आजको बैठकमा विवाह गर्ने उमेरबारे छलफल भएको हो । गृहमन्त्री लेखकले अन्य देशमा रहेको रोमियो जुलिएट ल अनुसार १६ देखि १८ वर्षको बीचमा युवायुवतीको शारीरिक सम्बन्ध भएमा त्यसलाई बलात्कार मान्न नमिल्ने व्यवस्था भएको बताउनुभयो ।

समिति बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद नागिना यादवले विवाह गर्ने उमेर १८ वर्ष बनाउनुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले विवाह गर्ने उमेर घटाउन आवश्यक भए पनि अनावश्यक विरोध भएको बताउनुभयो । 


प्रतिक्रिया