६ घण्टापछि आगो नियन्त्रणमा
चैत्र १३, २०८१
सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ । इटहरीको सबैभन्दा अग्लो १० तले सो भवनमा बिहान साढे ९ बजेदेखी आगो लागेको थियो । प्लाजाको पाँचौँ र छैटौँ तल्लामा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरिक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनबढी स्थानीय तहका दमकल प्रयोग गरिएको थियो ।
यस्तै, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीसहित ३ सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । सो भवनमा फसेका ११ जनाको उद्धार गरिएको थियो । प्लाजाको बिभिन्न तल्लामा फसेका ८ पुरुष र तीन महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । तीन जनाको भने नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । आगलागीको कारण भने खुल्न नसकेको र क्षतीको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।