लेखक तथा पूर्वराजदूत कमल कोइरालाको निधन

चैत्र १८, २०८१ | काठमाडौं
लेखक तथा पूर्वराजदूत कमल कोइरालाको निधन भएको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत ८७ वर्षीय कोइरालाको हिजो साँझ निधन भएको हो ।
गत मंगलबार घरमै लडेर पक्षाघात भएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोइरालाको निधन भएको हो । कोइरालाको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ बजे आलोकनगरस्थित एकीकृत समाजवादी पार्टी कार्यालयमा राखिने भएको छ ।
पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा कमल किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । लेखन र पत्रकारितामा समेत सक्रिय कोइराला दक्षिण कोरियाका लागि राजदूत पनि बन्नु भएको थियो ।
२०७८ मा सर्वोच्च अदालतमा नै न्यायिक विचलन ल्याएको, न्यायको मूल्यमा सौदाबाजी गरेको, न्यायमा अवरोध गरेको र न्याय प्रशासनमा खेलबाड गरेको भन्दै तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध वकिलको छाता संगठन नेपाल बार एसोसिएसनले गरेको आन्दोलनमा कोइराला सक्रिय रुपमा सहभागी हुनु भएको थियो ।