प्रधानमन्त्री ओली बैंककमा

चैत्र १९, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि थाइल्याण्ड पुग्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको टोली बैंकक पुगेको हो ।

उहाँलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गर्नुभयो । नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेश तथा समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ भने दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारीपत्रमा हस्ताक्षर हुनेछ । 

पर्यटन र संस्कृति सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर हुने तयारी छ । यस्तै, थाइल्याण्डका प्रतिष्ठित व्यवसायीसँग छलफल गर्ने तथा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँले चैत २२ गते बिमस्टेक शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

खर सम्मेलन लगत्तै विभिन्न देशका सरकार प्रमुखसँग साइडलाइन वार्ता गर्ने प्रधानमन्त्री ओलीको योजना छ । सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका सदस्य छन् । प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किनेछ ।


प्रतिक्रिया