भोलिदेखि आम शैक्षिक हड्ताल घोषणा

चैत्र २४, २०८१
काठमाण्डौंमा शैक्षिक सडक आन्दोलन जारी राखेको नेपाल शक्षिक महासंघले भोलिदेखि आम शैक्षिक हड्ताल घोषणा गरेको छ । यही चैत्र २० गतेदेखि काठमाण्डौं केन्द्रीत शैक्षिक सडक आन्दोलन गरीरहेको महासंघले अझ सशक्त बनाउन आम शैक्षिक हड्ताल घोषणा गरेको हो ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा जारी आन्दोलन अन्तिम र निर्णायक रहेको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनुभयो । देशभरका सबै विद्यालय बन्द गरी काठमाण्डौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य उपस्थितिका लागि महासंघले शिक्षक, कर्मचारीलाई आग्रह समेत गरेको छ । यस्तै आन्दोलन अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार , शैषिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि महासंघले आग्रह गरेको छ ।
यसैबीच सरकारले आन्दोलनमा उत्रिएको महासंघलाई वार्ताका लागि आह्वान गरेपनि वार्ताबाट निकास ननिस्किने भन्दै सहभागि भएको छैन ।