सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकालागि ३४ जनाको सूची प्रकाशन

वैशाख १५, २०८२ | काठमाडौं

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका दस पदाधिकारीका लागि ३४ जनाको सूची प्रकाशित गरिएको छ । 

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित ५ सदस्यीय सिफारिस समितिले हिजो साँझ दुवै आयोगमा एक–एक अध्यक्षसहित पाँच–पाँच पदाधिकारी नियुक्तिका लागि ३४ जनाको संक्षिप्त सूची प्रकाशित गरेको हो ।

 उच्च अदालतका पूर्वन्यायाधीश अग्निप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, पूर्वमुख्य सचिव लीलादेवी गड्तौला, कानूनका प्राध्यापक विजयसिंह सिजापति, पूर्वनायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले दुवै आयोगका अध्यक्ष वा सदस्यका लागि आवेदन दिनु भएको थियो । सिफारिस समितिले उनीहरुको नाम सोही अनुसारै सूचीमा समावेश गरेको छ ।

 त्यस्तै, पूर्वन्यायाधीश महेश थापा र बारका पूर्वअध्यक्ष शेरबहादुर केसीको नाम सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षका लागि संक्षिप्त सूचीमा समावेश गरिएको समितिकी सदस्य तथा मानव अधिकार आयोगकी आयुक्त लिली थापाले बताउनुभयो ।

आवेदन परेका नामबाहेक सिफारिस समितिले आफैंले पनि योग्य व्यक्तिको पहिचान गरी सिफारिस गर्न सक्ने वा संक्षिप्त सूचीमा नाम समावेश गर्न सक्ने कानुनी सुविधा थियो । तर, समितिले त्यसको प्रयोग नगरी आवेदनमा परेका नामबाटै सूची तयार पारेको थापाले जानकारी दिनुभयो । समितिले सूचीमा समावेश नाममाथि दाबी विरोध आएमा त्यसको अध्ययनका लागि ४ दिन छुट्याइएको छ । त्यसपछि वैशाख २४ देखि २६ गतेसम्म अन्तर्वार्ता लिइने र त्यसका आधारमा दुवै आयोगका लागि पाँच आयुक्त सिफारिस गरिने समिति सदस्य थापाले बताउनुभयो ।


प्रतिक्रिया