प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन संसद्मा सरकारको ध्यानाकर्षण

वैशाख १५, २०८२ | काठमाडौं
सांसदहरुले काठमाडौँमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनहरूले शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद् पक्ष भन्दै शिक्षकहरुमाथि गरिएको अभद्र व्यवहार रोकिनुपर्ने धारणा राखे । साथै, विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन् ।
माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शिक्षकहरूको माग सम्बोधन गर्न सरकारले तदारूकता देखाउनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले शिक्षकहरूको न्यायोचित माग तत्काल पूरा गर्न सरकारसमक्ष माग गर्नुभयो । यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले शिक्षकमाथि भएको दमन र कुटपिटजन्य घटना दुःखद रहेको भन्दै शिक्षकको माग पूरा गर्न आग्रह गर्नुभयो ।