इजरायल–इरानमा रहेका नेपाली ल्याउन गृहकार्य शुरु

असार ६, २०८२ | काठमाडौं
इजरायल–इरान युद्धका कारण विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धारका विषयमा परराष्ट्र मन्त्रालयले प्रक्रिया अघि बढाउने भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको अध्यक्षतामा बसेको परराष्ट्र, गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठकले सो प्रक्रिया शुरु गरेको हो ।
ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरुलाई परराष्ट्र मन्त्रालयले आधिकारीक पोर्टलमा आफ्नो विवरण भर्न अपिल गरेको छ । युद्ध सुरू भएदेखि नै गम्भीर रुपमा हेरिरहेको र कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरुलाई उद्धार गरी ल्याउने भन्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।
सो कामका लागि परराष्ट्र मन्त्रालयमा चौबिसै घन्टा खुला रहने गरि छुट्टै शाखा विस्तार गरिएको छ ।