राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपकरण खरिदमा अनियमितताः ५ जना र एक कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा

असार २७, २०८२ | काठमाडौं
राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ५ जना र एक कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । केन्द्रका लागि ‘हाई कम्प्युट इन्फास्ट्रक्चर’ सम्बन्धी उपकरण खरिद गर्दा करिब १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।
पौडेलसहित केन्द्रका ५ कर्मचारी, एकजना ठेकेदार र ठेकेदार कम्पनीविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । गुणस्तरहीन उपकरण महँगोमा खरिद सम्झौता गरी तोकिएका सर्तविपरीतका उपकरण खरिद गरेर सरकारी सम्पत्ति हानिनोक्सानी गरेकोमा अख्तियारले उनीहरुलाई प्रतिवादी बनाएको छ । अख्तियारले तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी लिएको छ ।
यसैगरी केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध एकमुष्ट बिगो कायम गरी कैद र जरिवानाको मागदाबी लिइएको छ । पाँचैजना प्रतिवादीविरुद्ध यसअघि पनि केन्द्रका उपकरण खरिद प्रकरणमा अख्तियारले प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकामा केही धरौटीमा छुटेका छन् भने तत्कालीन कार्यकारी निर्देशक पौडेल, दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् ।