१ मिनेट ८ सेकेन्ड बसेर सकियो कामपाको कार्यपालिका बैठक

असार २७, २०८२ | काठमाडौं
काठमाडौं महानगरपालिकाको सात महिनापछि बसेको कार्यपालिका बैठक १ मिनेट ८ सेकेन्डमा सम्पन्न भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाअनुसार स्थानीय तहको कार्यपालिका बैठक महिनामा एकपटक अनिवार्य बस्नुपर्ने हुन्छ । यद्यपि, काठमाडौं महानगरपालिकामा भने प्रमुख बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादले सात महिनापछि कार्यपालिका बैठक आज बसेको हो ।
सात महिनापछि बसेको बैठक पनि लामो समय भने बस्न सकेन । बैठकमा प्रमुख शाहले २४ वटा एजेन्डा रहे पनि एउटा एजेन्डामा मात्रै निर्णय लिइएको जानकारी गराउनुभएको थियो । काठमाडौं महानगरपालिकाको १७ औँ नगरसभा अधिवेशन मिति तोक्ने सम्बन्धमा असार २९ गते दिउँसो २ बजे नगरसभा र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने जानकारी गराउँदै शाहले बैठक टुंग्याउनुभयो ।
असार १० भित्र ल्याइसक्नुपर्ने महानगरपालिकाको बजेट मसान्तसम्म पनि ल्याउन नसकिएको अवस्थामा कार्यपालिका बैठक बोलाइएको हो ।