पूर्वसहमति सम्बोधन नभए अर्को चरणको आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

असार ३०, २०८२ | काठमाडौं
नेपाल शिक्षक महासंघले सरकारले आफूहरुसँग यसअघि भएका सहमति यथाशीघ्र सम्बोधन नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महासंघले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल यथासीघ्र सम्पन्न गरी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पारित गराउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघ अध्यक्ष लक्ष्मिकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा विधेयक प्रतिनिधिसभामा पेश र पारित नभए अब संवाद र छलफल छाडेर आन्दोलन गर्ने र त्यसबाट उत्पन्न असहज परिस्थिति र परिणामप्रति राज्यपक्ष नै जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ ।
महासंघले काठमाडौं केन्द्रित २९ दिने गरेको सडक आन्दोलन उत्कर्षमा पुगेपछि सरकारले असार १५ गते भित्रै सो विधेयकलाई प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धता जनाएको थियो । तर सो प्रतिबद्धता अनुसार विधेयक प्रतिनिधिसभामा पेश हुन नसकेकोले सरकारको ध्यानकर्षण र चेतवनी दिएको हो । सरकारले सबै अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन लगायत विषयमा गम्भिर हुन नसकेको समेत महासंघले बताएको छ ।