राप्रपाद्वारा जिल्ला र स्थानीय तहमा अधिवेशनका लागि गृहकार्य शुरु

श्रावण १५, २०८२ | काठमाडौं

संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जिल्ला र स्थानीय तहमा अधिवेशनका लागि गृहकार्य शुरु गरेको छ । आगामी असोजभित्र सबै जिल्लामा अधिवेशन गर्ने गरी तयारी गरिएको सो पार्टीले जनाएको छ । त्यसका लागि राप्रपाले सबै जिल्लामा अधिवेशनका लागि केन्द्रीय नेतालाई पर्यवेक्षकको जिम्मेवारी दिएको छ ।

अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले निर्धारित समयमै सम्पन्न गर्नका लागि पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार पर्यवेक्षक तोकिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष राजेन्द्र लिङदेनको गृह जिल्ला झापामा इनु अधिकारी, मकवानपुरमा महामन्त्री धवल शमशेर राणा, भक्तपुरमा रोशन कार्की, ललितपुरमा प्रकाश रिमाल र उद्धवराज भेटवाल, काठमाडौँमा वुद्धिमान तामाङ, नुवाकोटमा उद्धव थापा, धादिङमा विक्रम पाण्डे र चितवनमा रविन्द्र मिश्रलाई पर्यवेक्षक बनाइएको छ ।

जिल्ला तहको अधिवेशनका क्रममा भ्रष्टाचार विरुद्धको कार्यक्रम आयोजना गर्ने र आगामी आन्दोलनको तयारी गर्ने लगायत जिम्मेवारी समेत पर्यवेक्षकलाई तोकिएको राप्रपाले जनाएको छ । यसैबीच, राप्रपाका निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गर्नुभएको छ । प्रेस विज्ञप्ति जारी गर्दै कार्कीले पार्टी नेतृत्वको गुटबन्दी, भागबन्डा र हैकमवादी प्रवृत्तिबाट निराश भई पार्टी परित्याग गर्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।  


प्रतिक्रिया