ललितपुर महानगरमा वृत्ति मार्गनिर्देशन सेवा ईकाइ सुरु

रेडियो कान्तिपुर संवाददाता

श्रावण १५, २०८२ | काठमाडौं

ललितपुर महानगरमा आजबाट वृत्ति मार्गनिर्देशन सेवा ईकाइ सुरु भएको छ ।

माध्यामिक तहका विद्यार्थीहरु तथा युवाहरुलाई रुची, खुबी र क्षमताका आधारमा व्यवस्थित रुपमा वृत्ति विकासमा सहयोग पुर्याउने उदेश्यकाबीच ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र स्वीस दुतावासकी प्रथम सचिव एन्टोनिया फ्‌लुकले संयुक्त रुपमा आज उद्घाटन गर्नुभयो ।

महानगरको त्रिपद्म विद्याश्रम माध्यामिक विद्यालयमा सो ईकाइ संचालनमा ल्याइएको हो । ईकाइले विशेषगरी कक्षा ८,९ र १० का विद्यार्थीहरु तथा युवाहरुलाई उनीहरुको रुची, खुबी र क्षमताका आधारमा वृत्ति पहिचानमा ईकाइले सहजीकरण गर्दछ साथै विद्यार्थीलाई सीप विकासमा प्रेरणा जगाउनका लागि अभिभावक तथा शिक्षकलाई समेत प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम टीभेटको महत्वबारे उजागर गराउँछ ।

नेपाल सरकार र स्वीस सरकारबीचको सहकार्य र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित दिगो तथा सम्मानित रोजगारीकालागि सीप परियोजनाको सहयोगमा ललितपुर महानगरपालिकाद्वारा वृत्ति मार्गनिर्देशन सेवा ईकाइ स्थापना गरिएको हो । ईकाइबाट व्यक्तिगत तथा सामूहिक परामर्श सेवा, साइकोमेट्रिक परीक्षण, वृत्ति मेला आयोजना, वृत्ति मार्गनिर्देशन सामग्री व्यवस्थापन, अभिभावक शिक्षा, प्रशिक्षक प्रशिक्षण तालिम तथा व्यक्तिगत तथा सामुहिक परामर्श सेवा प्रदान गरिन्छ । त्यस्तै, बेरोजगार, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति वा युवा तथा उनीहरुको परिवारलाई वृत्ति, पेशा, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइ र कामको संसार सम्बन्धी जानकारी प्रदान गर्ने उदेश्य ईकाइले राखेको छ ।

ईकाइ शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले युवालाई आफू उपयुक्त वृत्ति छनोट र आय आर्जनमा सहभागी गराउनका लागि ईकाइले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गनुभयो। हाल विद्यालयमा संचालन गरिएको ईकाइलाई भविष्यमा महानगरको आफ्‌नै भवनमा स्थापना गरेर वृहत रुपमा अघि बढाउने प्रमुख महर्जनको भनाइ छ । 


प्रतिक्रिया