कैदीबन्दीबीच भएको झडपपछि कैलाली कारागारमा तनाव

श्रावण २४, २०८२ | काठमाडौं
कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीबीच भएको झडपपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । कारागारमा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको बाक्लो उपस्थिति गराइएको छ भने घाइतेको विवरण प्राप्त हुन सकेको छैन । कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
गएरातिको झडपमा भने धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुख कारागारभित्र प्रवेश गर्न सकेको छैनन् । झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अस्ति बिहिवार पनि कैदीबन्दीहरुबीच आपसमा झडप भएको थियो । त्यसक्रममा ६ जना घाइते भएका थिए । घाइतेमध्ये पाँच जना उपचारपछि डिस्चार्ज भएपनि एक जना भने अहिले पनि उपचारकै अवस्थामा रहेको कारागारमा खरिदार रामप्रसाद चौधरीले बताउनुभयो । एक सय ५० जना क्षमताको कैलाली कारागारमा सात सय बढी कैदीबन्दी रहेका छन् ।
यसैबीच, कैलाली जिल्ला कारागारमा कैदीबन्दीबिच झडप भएको घटनामा राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गरेको छ । कारागार कार्यालयमा भएको झडपपछि उत्पन्न परिस्थितिबारे आयोगको धनगढीस्थित कार्यालयले अनुगमन गरेको हो । अनुगमनका क्रममा कारागारमा क्षमता भन्दा बढी संख्यामा कैदी राख्नु तथा सुरक्षाव्यवस्था कमजोर हुँदा झडप भएको आयोगको धनगढीस्थित कार्यालयका प्रमुख प्रकाश दत्त भट्टले जानकरी दिनुभयो ।
कारागारमा झडपको विषयमा जिल्ला सुरक्षा समितिले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हाम्रा सहकर्मीले जनाएका छन् ।