भदौ ८ बाट एकीकृत समाजवादीको केन्द्रीय कमिटि बैठक बस्ने

श्रावण २४, २०८२ | काठमाडौं
एकीकृत समाजवादीले केन्द्रीय कमिटिको बैठक बोलाएको छ ।
पार्टीका शीर्ष नेतावीच मतभेद भइरहेका बेला समाजवादीले केन्द्रीय तहको बैठक आह्वान गरेको हो । भदौ ८ गते शुरु हुने बैठकमा पार्टीभित्रको वैचारिक विवाद, संगठन निर्माण लगायत विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।
बैठकमा माओवादी केन्द्रसँग एकताको विषय पनि मुख्य एजेण्डामा राखिएको एक नेताले बताए । माओवादी केन्द्रसँग एकता गर्ने विषयमा दुई पार्टीका नेताबीच आपसी सम्वादमा छन् । केन्द्रिय कमिटी बैठकमा पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा छलफल हुने बताइएको छ ।
बैठक अघि समाजवादीले पोलिट्व्युरो र स्थायी समितिको बैठक समेत बोलाएको छ । यसैबीच, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । नेता गौतम आपसी सम्वादका लागि खनालको निवासमा पुग्नुभएको थियो ।