रूपन्देही जिल्ला कारागारको अवस्था नाजुक छः मानव अधिकार आयोग

श्रावण २६, २०८२ | काठमाडौं
राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापाले रूपन्देही जिल्ला कारागारका कैदीबन्दीको अवस्था नाजुक रहेको बताउनुभएको छ ।
आयोगको टोलीले आज बिहान कारागार निरीक्षण गरेको थियो । आयुक्त थापाले क्षमताभन्दा तेब्बर कैदीबन्दी राखेर सरकारले व्यवस्थापनमा कमजोरी गरेको प्रतिक्रिया दिनुभयो । निरीक्षणका क्रममा कारागार व्यवस्थापन विभाग र सम्बन्धित मन्त्रालयको लापरबाही देखिएको उहाँको भनाइ छ ।
आयोगले पहिल्यै मुलुकभरका कारागारको अवस्था अध्ययन गरेर सुधारका लागि सुझाव दिए पनि बेवास्ता गरिएको थापाले बताउनुभयो । यसैबीच, कारागार र कैदीबन्दीको अवस्था निरीक्षण गर्न पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीसित रास्वपा सभापति रवि लामिछानेले केही गुनासा व्यक्त गर्नुभएको छ ।
कुराकानीका क्रममा लामिछानेले बसोबास र खानाको व्यवस्था राम्रो भए पनि स्वच्छ हावामा हिँडडुल गर्न नपाएको बताउनुभएको थियो । लामिछानेले अदालतले अनुमति प्रदान गरिसकेको कारागार स्थानान्तरणको विषय रोकिएकामा आयोगको ध्यानाकर्षण गराउनुभएको थियो ।