उत्तरकाशीको धराली क्षेत्रमा ८ जना नेपाली हराईरहेको पुष्टि

श्रावण २६, २०८२ | काठमाडौं
भारत उत्तराखण्डको उत्तरकाशीको धराली क्षेत्रमा ८ जना नेपाली हराईरहेको पुष्टि भएको छ । दिल्ली स्थित नेपाली दुतावासका अनुसार उत्तरकाशीमा ८ जना हराइरहेको पुष्टि भएको हो ।
बाढीमा परेर हराइरहेकाहरुको नाम ठेगाना भने दुतावासले सार्वजनिक गरेको छैन । दिल्लीस्थित नेपाली दुतावासका काउन्सिलर प्रकाश मल्लका अनुसार उत्तरकाशीको बाढीग्रस्त क्षेत्रमा खोजी तथा उद्धारको काम चलिरहेकाले संख्या थपघट हुन सक्ने देखिन्छ । त्यस्तै, दुतावासका अनुसार १३ जनाको उद्धार गरिएको छ ।
गत मंगलबारको भीषण वर्षापछि उत्तरकाशीको धराली क्षेत्रमा रहेको खीरगंगा नदीमा आएको भीषण बाढीले धराली बजार तहसनहस भएको छ । सो बजारमा रहेका घर तथा होटेलहरु बाढीले पुरिएका छन् । तिनै पुरिएका घर तथा होटेलहरुमा ५० जना भन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ । नेपालीहरु समेत परेको हुन सक्ने आशंका गरिएको छ ।
उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त आर्यका अनुसार बेपत्ता भनिएका २६ जना सम्पर्कमा आएका छन् ।