संविधान विरुद्धको षड्यन्त्र सफल हुन दिँदैनौंः एमाले

आश्विन ३, २०८२ | काठमाडौं
नेकपा एमालेले आन्दोलनकारीको आक्रमणबाट क्षतिग्रस्त बनेको पार्टी कार्यालय परिसरमा कार्यक्रम गरी संविधान दिवस मनाएको छ ।
ललितपुरको च्यासलस्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा एमालेका नेता र कार्यकर्ताको घुँइचो लागेको थियो । कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले वर्तमान संविधान ऐतिहासिक उपलब्धि भएकाले यसविरुद्धको षड्यन्त्रलाई सफल हुन नदिने बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले निर्वाचनको नाममा गलत कार्य भएमा स्वीकार्न नसकिने टिप्पणी समेत गर्नुभयो । साँचो अर्थमा निर्वाचन हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी ओली भने सहभागी हुनुभएन । सैनिक सुरक्षाबाट बाहिरिएपछि ओली हिजोबाट भक्तपुरको गुन्डुस्थित भाडाको घरमा बस्नुभएको छ ।