आगामी चुनावका लागि सहयोग गर्न राष्ट्रपति पौडेलको आग्रह

आश्विन ३, २०८२ | काठमाडौं
संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा राष्ट्रपति कार्यालय र काठमडौंको टुँडिखेलस्थित सैनिक मञ्च लगायत स्थानमा औपचारिक कार्यक्रम आयोजना गरियो ।
शितलनिवासमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका लागि ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो । संसदबाट सरकार बनाउने अवस्था नभएपछि अन्तरिम सरकार गठन गरिएको उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले ६ महिनाभित्र चुनाव सम्पन्न गर्नु सबैको कार्यभार भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संवैधानिक निकायका प्रमुख, दलका नेता, कुटनीतिक क्षेत्र र जेन जी युवा पुस्ताका प्रतिनिधि सहभागी थिए । सम्वोधनका क्रममा राष्ट्रपति पौडेलले संविधानको रक्षाका लागि युवा पुस्ताको चाहना अनुसार अघि बढ्नुपर्ने बताउनुभयो । भ्रष्टाचारको अन्त्य र सुशासन बहालीका लागि कदम चाल्न उहाँले आग्रह समेत गर्नुभयो ।
त्यस्तै, दलहरुले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् । प्रदेश सरकारहरुले पनि संविधान दिवसका अवसरमा कार्यक्रम गरेका थिए ।