बेंसीसहर–चामे सडकमा तीन दिन सवारी आवागमन बन्द

आश्विन १८, २०८२ | काठमाडौं
जिल्ला प्रशासन कार्यालय मनाङले बेंसीसहर–चामे सडकमा तीन दिन सवारी आवागमन बन्द गरेको छ ।
यो सडक हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र सडक हो । लगातारको वर्षा र थप वर्षाको पूर्वानुमानका कारण जिल्ला प्रशासन कार्यालय मनाङले असोज १८ देखि २० गतेसम्मका लागि सडक बन्द गर्ने निर्णय गरेको जनाएको छ । यसैबिच दोलखामा अत्यावश्यकबाहेक जिल्लाभर सार्वजनिक र निजि सवारी सधान संचालनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।
निरन्तर भारी वर्षा भैरहेकाले बाढी पहिरोका कारण सडक जोखिममा पर्ने भन्दै सवारी संचालनमा जिल्लाभर प्रशासनले रोक लगाएको छ । दोलखामा भारी बर्षाका साथै बाक्लो हुस्सु र हावाले जनजीवन प्रभावित बनेको छ ।
त्यस्तै,विपि राजमार्ग बन्द भएपछि सार्वजनिक यातायातले वैकल्पिक मार्ग अन्तर्गत पुष्पलाल मार्ग प्रयोग गरेर मन्थली–तामाकोसी चरिकोट हुँदै काठमाडौं आउन थालेका छन् । लगातारको बर्षाका कारण मुख्य राजमार्ग बन्द हुँदा सो मार्ग प्रयोगमा आएको हो ।
प्रशासनले रोक लगाएपनि सार्वजनिक यातायातले जवरजस्ती सो मार्ग प्रयोग गरेपछि अधिकांस सवारी साधनलाई दोलखाको किर्नेटारमा रोकिएको दोलखाका प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोले बताउनुभयो ।