संखुवासभामा सडक यातायात पूर्णरूपमा अवरुद्ध

आश्विन २०, २०८२ | काठमाडौं
लगातार दुई दिनदेखि परिरहेको अविरल वर्षाले संखुवासभा पनि जोखिम निम्त्याएको छ ।
विभिन्न स्थानमा पहिरोका कारण संरचनात्मक क्षति पुगेको छ भने सडक यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।
पहिरोका कारण खाँदबारीस्थित जिल्ला कारागार, नेपाली सेनाको इन्द्र दल गुल्म, चैनपुर नगर अस्पताल र धेरै बस्तीहरू उच्च जोखिममा परेका छन् ।
शनिबार दिउँसोदेखि निरन्तर परिरहेको वर्षाले खाँदबारीस्थित जिल्ला कारागारको करिब ३० मिटर लामो बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार कारागारको तल्लो भागमा ठूलो पहिरो खसेपछि भवनसमेत जोखिममा परेको छ । यस्तै, सडक यातायात त झनै पूर्णरूपमा ठप्प भएको छ ।
सदरमुकाम खाँदबारीदेखि भोटखोला गाउँपालिकातर्फ जाने उत्तर–दक्षिण सडक खण्ड मकालु गाउँपालिका–३ मा ठूलो पहिरो खसेपछि एक महिनादेखि अवरुद्ध छ ।
सो सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँगको सम्पर्क समेत टुटेको छ ।
लगातारको वर्षा र चीनको सीमाक्षेत्रमा पनि उच्च वर्षा भइरहेको सूचना प्राप्त भएपछि सुरक्षाका दृष्टिले जिल्ला बाहिर तथा भित्री ग्रामीण सडक यातायात सञ्चालनमा अस्थायी रूपमा रोक लगाइएको छ ।
स्थानीय प्रशासनले जनतालाई सतर्क रहन र जोखिमपूर्ण क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।