हेटौंडा र चरिकोट भएर आवतजावत गर्न सिन्धुली प्रशासनको अपिल

आश्विन २०, २०८२ | काठमाडौं

बीपी राजमार्गको नेपालथोक–धुलीखेल खण्डको नेपालथोक–चौकीडाँडा २२ किलोमिटर सडक रोशीखोलाको बाढी र पहिरोले क्षतविक्षत भएपछि काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न सिन्धुली प्रशासनले आग्रह गरेको छ ।

सिन्धुलीमाडी भएर मदन भण्डारी राजमार्ग हुँदै हेटौंडा भएर काठमाडौं तथा सिन्धुलीमाडीबाट खुर्कोट भएर सुनकोसी नदी पार गर्दै रामेछापको मन्थली, दोलखाको चरिकोटबाट अरनिको राजमार्ग प्रयोग गर्न सकिने सिन्धुली प्रशासनले जनाएको छ ।

बीपी राजमार्गको नेपालथोक–चौकीडाँडा सडकमा अस्थायी ट्याक खोल्न केही दिन लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले सुझाएको हो ।

वर्दिवास–सिन्धुली–नेपालथोकसम्मको ११० किलोमिटर सडक यातायात सुचारु छ ।

सिन्धुलीमाडीबाट हेटौंडा १२० किलोमिटर मात्र छ ।

यात्रु तथा सवारी चालकले ट्राफिक प्रहरीसँग सोधपुछ गरेर यात्रा गर्न सिन्धुलीका प्रमुखजिल्ला अधिकारी दिनेश सागर भुषालले आग्रह गर्नुभएको छ । 


प्रतिक्रिया