नेपाल प्रहरीको ३३ औं आईजीपीका रुपमा कार्कीको कार्यकाल शुरु
कार्तिक २७, २०८२ | काठमाडौं
जेन आन्दोलनपछि विकसित घटनाक्रमसँगै मुुलुकको सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने चुनौतीबीच नेपाल प्रहरीका नयाँ महानिरिक्षकको कार्यकाल शुरु भएको छ ।
नवनियुक्त प्रहरी महानिरिक्षक दानबहादुुर कार्कीले पदभार सम्हाल्दै काम शुरु गर्नुभएको हो । यसैबीच, पदभार ग्रहण गर्दै कार्कीले माहनिरिक्षकका रुपमा प्राप्त जिम्मेवारी पारदर्शी रुपमा गर्ने बताउनुभयो ।
जेनजी आन्दोलनपछि विकसित सुरक्षा चुनौती तथा सुशासन कायम गर्ने र आगामी फागुनमा हुने तय भएको निर्वाचन तर्फ आफ्नो ध्यान केन्द्रीत हुने महानिरिक्षक कार्कीले बताउनुभयो ।
असाधारण परिस्थितिमा प्राप्त जिम्मेवारीलाई आम नागरिकको अपेक्षा अनुसार प्रहरी कर्मचारीको मनोबल उच्च हुने गरि कर्यसम्पादन गर्ने उहाँले बताउनुभयो ।
महानिरीक्षकका रुपमा कार्कीले २०८४ चैत १७ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्नु हुनेछ । कार्की नेपाल प्रहरीको ३३ औं प्रहरी महानिरिक्षक बन्नुभएको हो ।
खापुङलाई विदेश भ्रमणमा रोक
यसैबीच, भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानविन आयोगले निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले खापुङलाई विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतिविना उपत्यका समेत छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको हो ।
पदबाट अवकाश पाएको भोलिपल्ट खापुङविरुद्ध आयोगले सो कदम चालेको हो ।











